२६ किलोमिटर सुरुङमा मेलम्चीको पानी ‘ब्रेक थ्रो’



काठमाडौँ। उपत्यकामा ल्याउनको लागि बनाइएको २६ किलोमिटर सुरुङमा मेलम्चीको पानी ‘ब्रेक थ्रो’ गरिएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी आइतबार सुरुङमा छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको खानेपानी मन्त्री विना मगरले दावी गरेकी छन्।

खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी ‘विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौं बासीको दुई दशकभन्दा लामो ब्यग्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको व्यहोरासमेत सार्वजनिक गरेको छ।

परीक्षणका लागि चाहिने आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ। अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गर्ने र पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिने गरि करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिकले अनुमान गरेको छ।

पूर्णरुपमा भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिने र पानी भरिएकै दरमा सुरुङ खाली गर्दा १५ –२० दिन लाग्ने त्यसपछि खाली सुरुङ भरिन पूर्ण ७ दिन लाग्ने खानेपानी आयोजनाले जनाएको छ।

यसरी सुरुङमा नियमित पानी छाड्न सरदर २ महिना लाग्ने र इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ।

काठमाडौंमा सरकारले भने अनुसार तत्कालै पानी आउँदैन असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले मेलम्चीको पानी पाउने अवस्था हुँने छैन् । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन्।

आठवटा नयाँ ट्यांकीमा पानी पुर्याउन ठूला पाइपहरू जोडिएका छन्। आयोजनाको ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान गरिएको छ।

चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुने र महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी नै भएको आयोजनाले बताएको छ। सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्ष ५ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ।

तस्बिर: मुकुन्द कालिकोटे