नेकपाको निर्णायक वार्तामा शंकर र वर्षमानको इन्ट्री


काठमाडौँ। सत्तारुढ दलभित्रको आन्तरिक कहल साम्य पार्ने प्रयासस्वरुप आइतबार दुई पक्षबीच वार्ता हुन लागेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन लागेको हो।

ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिसँग भटसकेलगत्तै प्रचण्ड बालुवाटार छिरेका हुन्।

उनीहरुसँगै दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि साक्षीका रुपमा सहभागी छन्। साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डपक्षबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहेका छन्। गत शुक्रबार अध्यक्ष ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएका थिए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने र त्यसो गर्दा पार्टी फुटे फुटोस् भन्ने अभिव्यक्ति दिएका थिए।

उनले पार्टी एक हुने अवस्था नरहेकाले बरु प्रचण्डलाई पनि माधव नेपाल समूहमा जाने या आफ्नो कित्तामा आउने निर्णय गर्न आग्रह गरेका थिए। तर, प्रचण्डले पार्टी फुटाउने भन्दा पनि जुटाउनेतर्फ लाग्नुपर्ने भन्दै संवादलाई अघि बढाउन जोड दिएका थिए।

त्यसपछि ओलीले ‘गरौँला न त?’ भन्ने जवाफ दिएका थिए। शुक्रबारको सहमति अनुसार शनिबार नेताहरुबीच छलफल गर्ने भनेपनि नेताहरु आ आफ्ना पक्षका नेताहरुसँग छलफलमा लागेपछि वार्ता हुन सकेको थिएन। आजको बालुवाटार वार्तापछि नेकपा फुट्ने वा जुट्ने निक्र्योल हुने नेताहरुले बताएका छन्।

रातोपाटीका अनुसार ओली र प्रचण्डबीचको आइतबारको वार्ताअघि दुवै पक्षले आफू निकटका नेताहरुसँग परामर्श गरेका थिए। त्यसक्रममा ओलीले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शंकर पोखरेल लगायतका नेताहरुसँग समाधानको उपायबारे छलफल गरेका थिए भने प्रचण्डले नेता नेपाल र खनालसँग परामर्श गरेका थिए।

यता पार्टीभित्र बढेको कलह साम्य हुनुको साटो बढ्दै गएपछि दोस्रो तहका नेताहरु शुक्रबारबाटै पार्टी कार्यालय धुम्वराहीमा धर्नामा बसेका थिए। सोही अभियान अन्तर्गत सोमबार केन्द्रीय सदस्यहरुको भेला बोलाइएको छ। पार्टी कुनै हालतमा फुट्न नहुने र त्यसमा नेतृत्वले गर्नुपर्ने त्याग गर्नुपर्ने भन्दै दुवै पक्षका युवा नेता तथा सांसदहरुले दवावस्वरुप धर्ना भेला गर्नुपरेको बताएका छन्।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले सोमबार पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको र उक्त भेलाले थप रणनीति तय गर्ने जानकारी दिए।