राष्ट्रपतिलाई भेट्न नेकपाका शीर्ष नेता शीतलनिवासमा


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविश्वास र महाभियोग लगाएर हटाउन लागे अभिव्यक्ति दिएपछि नेकपाका शीर्ष नेता शीतलनिवास पुगेका छन्।

आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन्। तीनै नेताले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नगरेको र त्यो सोच्न पनि नसक्ने बताएका थिए।

‘हामी तपाईलाई विवादमा मुछ्ने पक्षमा छैनौँ, हाम्रो चाहना पनि त्यो हुँदापनि होइन’, एक नेताले भने, ‘यो पार्टीको आन्तरिक अन्तरसंघर्ष हो । पार्टीभित्र यस्ता छलफल र बहसहरु हुन्छन्।’

शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए। त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए।

त्यो बाहेक प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले हटाउन खोजेको र राष्ट्रपतिलाई पनि महाभियोग लगाउन खोजेको प्रमाण आफूसाग रहेको दलिल पेश गरेका थिए।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने वा हटाउने कुनै तयारी नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्ति आएपछि राष्ट्रपतिसँग वास्तविकता बुझ्न प्रचण्डलगायतका नेताहरु शीतल निवास गएका हुन्।