कर्णालीमा कोरोना निको हुनेको संख्या १२ सय नाघ्यो


सुर्खेत। कर्णाली प्रदेशमा कोरोना जितेर घर र्फिर्कनेको संख्या १२०१ पुगेको छ।

शनिबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश अस्पताल सुर्खेतका एक महिलासहित ३ जना रहेका छन्। कर्णालीमा थप ६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सल्यानका ५ र दैलेखका एक जना रहेको महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४८९ पुगेको छ। त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। हाल २८२ जना आइसोलेसनमा रहेका छन्।