शीतलनिवासबाट फर्केपछि प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग छलफल


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटपछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन । साथै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुको कारण स्पष्ट नहुँदा पार्टीभित्र र बाहिर अनेक अड्कलबाजी भएका छन् ।

नेकपा नेताहरुका अनुसार शनिबार अपरान्ह ४ बजे बालुवाटारमा ओली र प्रचण्डवीच छलफल गर्ने कार्यसूची तय भएको थियो । दुई अध्यक्षको भेटपछि खुमलटारमा प्रचण्ड(माधव पक्षीय सचिवालय सदस्यहरुको छलफल तय भएको थियो ।

तर, प्रचण्ड बालुवाटार जान नभ्याउँदै प्रधानमन्त्री ओलीले आफू शीतलनिवास जान लागेकाले आज छलफल गर्न नभ्याइने खबर प्रचण्डलाई पठाए । साथै मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाइएको खबर पनि सँगसँगै बाहिरियो ।

अनलाईन खबरका अनुसार प्रधानमन्त्री शीतलनिवास जान लागेको खबर पाएलगत्तै खुमलटारमा सचिवालयका ६ जना नेताहरु भेला भए। कतिपयले प्रधानमन्त्री ओली राजीनामा दिनका लागि शीतलनिवास गएको आशंका गरे भने केहीले अध्यादेश जारी गर्न वा संकटकाल लगाउन पो प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् कि भन्ने आशंका गरे।

तर, शनिबार साँझ प्रधानमन्त्रीले बोलाएर बालुवाटारमा पुगेका मनत्रीहरुका अनुसार त्यहाँ प्रधानमन्त्रीले कुनै गम्भीर प्रस्ताव ल्याएका छैनन् । सामान्य विषयहरुमा छलफल जारी छ ।

शीतलनिवासमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग सामान्य राजनीतिक विषयमा छलफल गरेको स्रोतले बतायो । पछिल्लो समय नेकपामा चर्किएको अन्तरविरोधका कारणमा एकअर्कावीच आंशका र अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडानमा रहेका प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेर दल विभाजन गर्ने पो हुन् कि भन्ने आशंका पार्टीभित्रको अर्को पक्षमा बढेको छ ।

प्रधानमनत्री ओलीले सहमतिमा आउन नमानेपछि स्थायी कमिटीको बैठक सोमबार सम्म स्थगन गरिएको छ । बैठक रोकेर शनिबार ओली(प्रचण्डवीच छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीले त्यसलाई टारेका छन् ।