सोमबार बस्ने गरी नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ। नेकपा स्थायी कमिटीको निर्धारित बैठक असार २२ गते सोमबारसम्मका लागि स्थगित भएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेको कारण देखाउदै आज निर्धारित बैठक स्थगित भएको छ। शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने यस अघि सहमति भएको थियो।

शुक्रबार ओली र प्रचण्डबी छलफल भयो तर, कुनै पनि निष्कर्शमा पुग्न सकेनन्। पुरानै अडान कायम भएपछि छलफलमा ठोस सहमति हुन सकेको थिएन।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा अडिक छन्। तर, ओलीले भने दुवै पद नछाड्ने अडान लिएका छन्।

आन्तरिक कहलका बीचमा प्रधामन्त्री समेत रहेका ओलीले संसद अधिवेशन अन्त्य गरेपछि दल विभाजनको अध्यादेश ल्याउने तयारी गरिएको त होइन ? भनेर नेकपाका नेताहरु सशंकित भएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन्। प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ।

ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना भएको थियो भने उनको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ।