‘जनताले दुई तिहाई मत दिदाँ पनि नेकपा सुध्रिएन’



काठमाडौँ। नेपाली कांग्रेस महासमिति सदस्य मोतीराज बमले दुई तिहाई जनमत पाउँदा पनि नेपाली कम्युनिष्टहरु नसुध्रेको टिप्पणी गरेका छन्।

पछिल्लो समय नेकपा आन्तरिक विवादमा जाकिएको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओलीमा अहंकार बढेको र पार्टीको निर्देशन नमानेको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ट नेता माधव कुमार नेपाल पक्षका नेताहरुले राजीनामा समेत मागेका छन्।

४० सदस्यीय स्थायी कमिटी रहेको नेकपाका ३१ जना नेताहरु ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेपछि नेकपाको आन्तरिक कलहले ठूलो रुप लिएको हो। यसरी राजनीतिक अस्थिरता सिर्जना भएपछि काँग्रेस र अन्य राजनीतिक क्षेत्रमा चाँसो राख्नेहरुले नेकपामाथि प्रश्न गर्न थालेका छन्।

यसै क्रममा कांग्रेस नेता बमले सामाजिक सञ्जाल फेशबुक मार्फत शुक्रबार नेकपा फुटे पनि जुटे पनि कुनै फरक नपर्ने बताउँदै जनताले दिएको मतको कदर गर्न नसक्नुलाई चिन्ताको विषयका रुपमा अथ्र्याएका छन्।

उनले लेखेका छन्, ‘नेकपा फुट्ला या जुट्ला ? त्यो चिन्ताको विषय होइन। जनताले दुई तिहाई मत दिदा पनि प्रवृत्ति बदलिएन चिन्ता त्यो हो।’ नेता बमले नेकपालाई जनताले करिब दुई तिहाई मत दिदाँ पनि उनीहरुको प्रवत्ति नबदलिएको भन्दै चिन्ता प्रकट गरेका छन्।

गत बैशाख ८ गते दुईवटा राजनीतिक दल बिभाजन र संवैधानिक परिषदका काम कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश ल्याएर विवादमा फसेका प्रधानमन्त्री ओली जारी संसद अन्त्य गरेर पुनः आलोचितको पात्र बनेका छन्। पार्टीभित्र मात्रै होईन चेतनशील जनताहरुले समेत ओलीलाई सत्ताको मातमा मात्तिन थालेको टिप्पणी गर्न थालेका छन्।

पार्टीभित्रको विवादलाई साम्य पार्न शुक्रबार ओली-प्रचण्डबीचको छलफल भएको छ। उक्त छलफलले पार्टी एकताको मर्मका आधारमा अघि बढ्ने निर्णय गरेको नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।