ओली-प्रचण्डबीचको छलफल सकियो


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप केपी ओली-पुष्पकमल दाहलबीच भएको वार्ता सकारात्मक दिशा तर्फ अघि बढेको जनाइएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अधयक्ष प्रचण्डसहितका नेताहरुबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ।

बैठकमा सहभागी स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार छलफल सौहार्दपूर्ण र खुलेर भएको छ। फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो। छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थि।

गत वैशाख ८ गते सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ।

विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ।