कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७४० जनामा कोरोना संक्रमित थपिएका छन्।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।  ७४० जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ। ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ जना निको भएका हुन् भने एक जनाको मृत्यु भएको हो।

अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

बिहीबार मन्त्रालयले ४७३ जनामा सङ्क्रमण पुष्टि गरेको थियो भने एकै दिन सर्वाधिक ६६४ जना भाइरसमुक्त भएर घर फिर्ता भएका थिए। यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।