भारत–चीन सीमा लद्दाख पुगे नरेन्द्र मोदी


काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन्।

शुक्रबार मोदी भारतको लद्दाखको चीन–भारत सीमाक्षेत्रमा पुगेका हुन्। उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् ।

अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

सीमा क्षेत्रमा पुगेका मोदीले भने, ‘विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्ति कि परास्त भएको छ कि पछि हटेको छ ।’ उनले आफ्नो भाषणको क्रममा चीनको नाम भने लिएनन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत महिना भएको झडपको विषयमा चीनलाई उचित जवाफ दिन नसकेको भन्दै आलोचना खेप्दै आएका थिए । यसै क्रममा सीमाक्षेत्रमा पुगेका उनले झडपको क्रममा मारिएका सैनिकहरुले देखाएको वीरताले भारतको सौर्यबारे विश्वले सन्देश पाएको दावी गरे ।

शुक्रबारको भ्रमणमा मोदीको साथमा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावत पनि थिए।

पछिल्लो समय चीन र भारतको बीचमा तनाव बढ्दो क्रममा छ। गत महिनामा भएको झडपको जिम्मेवार दुवै मुलुकले एकअर्कालाई ठहर्‍याउँदै आएका छन्। झडपपछि जारी तनावको बीचमा भारतले टिकटकसहित ५९ स्मार्टफोनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसमा अधिकांश चिनियाँ एप छन्।

स्रोत: अलजजिरा