तीन महिनापछि श्रम स्वीकृति खुला


काठमाडौँ। लकडाउनका कारण रोकिएको श्रम स्वीकृति सरकारले बिहिबारबाट खुला गरेको छ।

वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुन: श्रम स्वकिृति खुला गरिएको छ।

पहिलो चरणमा पुन: श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसद दाहालले कर्णाली सन्देशलाई जानकारी दिए।

उनले भने, ‘सिसिएमसीको निर्णयलाई टेकेर मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति दिनु भनेर निर्देशन दिएको छ। हामीले मन्त्रालयले भने अनुसार तत्कालका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेका छौँ। अब बिस्तारै नयाँ पनि सुरु होला। तर नयाँ कहिले खुल्छ भनेर अहिले नै भन्न सक्दिन।’

कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुन: श्रम स्वीकृति दिन थालिएको हो। कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ।

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २–२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको छ। साथै कार्यालय हातामा प्रवेश गर्दा मास्क अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ।