अध्यक्ष प्रचण्ड र ओली पक्षका नेताहरुबीचको बैठक सकियो



काठमाडौँ। बिहीबार बिहान नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको अर्का अध्यक्ष केपी ओली पक्षका नेताहरुसँग बैठक सकिएको छ।

(नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन्।
छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताए। उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ।

सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो। यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए। त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन्।

हिजो बेलुका मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए। नेकपाको स्थायी समिति बैठक आजै बालुवाटारमा बस्दैछ।