पञ्चेश्वरमा बिओपी स्थापना


बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको (बिओपी) स्थापना भएको छ।

बुधबार सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो। रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीले जानकारी दिएको छ।

बिओपीको औपचारिक उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशङ्कर बुढाथाकीले बिओपीले सीमा सुरक्षाका लागि २४सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने बताए।

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ। बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो। यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बिओपी स्थापना गरिएको थियो। बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ।

हाल सीमामा देशभरि १२९ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्याउने तयारी गरेको छ। नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन्। नेपाल सरकारले पनि सोही अनुपातमा थप्ने तयारी गरेको हो।