काठमाडौँमा चीनविरुद्ध प्रदर्शन, परराष्ट्रमन्त्रीको पुत्लासमेत जलाइयो


काठमाडौँ। केही दिन पहिले पराष्ट्रमन्त्रालयले चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो। तर, पुनः चीनले नेपालको रुइ गाउँ कब्जा गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ।

राष्ट्रिय जागरण अभियानको आयोजनामा काठमाडौँको सिनामंगलमा चीनले नेपालको गाउँ कब्जा गरेविरुद्ध आन्दोलन भएको हो। चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दावदलगायतका नारा लगाउँदै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि परराष्ट्रमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विरसमेत जलाएका थिए।

झन्डै २००को संख्यामा उपस्थित प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दाबी गर्ने चीनविरुद्ध चर्का नाराबाजी गरेका थिए।

कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए। उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विर जलाउँदा प्रहरीले हस्तक्षेप गरेको उक्त प्रदर्शन झन्डै पौने घण्टा चलेको थियो।