स्थायी कमिटीका ३१ जना सदस्य ओलीविरुद्ध एकजुट


काठमाडौँ। नेकपा स्थायी कमिटीका ३१ सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्नेमा एकजुट भएका छन्।

पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ।

बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्षसमेत बैठकले निकालेको छ।

बैठकमा सहभागी नेपाल निकट एक स्थायी समिति सदस्यले ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको बताए। करिब ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी नेताहरुको बैठकमा अबको साझा रणनीति समेत बनाइएको ती नेताले बताए।

केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन्।

विशेषतः आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएपछि नेकपाभित्र केही महिनायता मत्थर भएको विवाद फेरि ब्यूतिएको हो। विवाद चर्किँदै जाँदा मंगलबार र बुधबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीको आलोचना गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका थिए।

आन्तरिक राजनीति पेचिलो बन्दै गएको बेला आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वमाओवादी पृष्ठभूमिका भएपनि पछिल्लो समय ओली निकट देखिएका उनी आजको बैठकमा भने सहभागी भएका हुन्।

यि हुन् ओलीविरुद्ध झम्सिखेल पुगेका ३१ जना

झम्सीखेल बैठकमा बुधबार बिहान केपी ओलीले बोलाएको भेलामा सहभागी भएका पूर्वमाओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणि थापा पनि प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका छन्। त्यस्तै अर्का मन्त्री घनश्याम भुसाल पनि झम्सिखेल बैठकमा जुटेका छन्। योगेश भट्टराईले काम विशेषले बैठकमा उपस्थित हुन नसकेको र बैठकको निर्णयमा सहमत हुने बताएको एक स्रोतले जानकारी दिएको छ।

झम्सीखेल बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागि भएका थिए।