दैलेखबाट घुससहित ४ जना अख्तियारको नियन्त्रणमा


सुर्खेत। जिल्ला खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारको कार्यालय सुर्खेतले भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनी घुस रकम मागेको सूचनाका आधारमा सुर्खेतबाट गएको अख्तियारको टोलीले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

घुससहित खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) मल्ल र सव–इन्जिनियर वीरेन्द्र चन्द, सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाईजर लक्ष्मी पाण्डेलाई आयोगको कार्यालयले घुससहित नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।