कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, ९ हजार आइसोलेशनमा



काठमाडौँ। नेपालमा २४ घण्टाभित्र थप ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक अनुसार वृद्धिसँगै बुधबार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ। तीमध्ये ३,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

२४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।अर्का एक व्यक्तिको पनि मृत्यु भएपछि मृतकको कुल सङ्ख्या ३० पुगेको हो।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड(१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ। गत साता असार १७ सङ्क्रमितको कुल सङ्ख्या १०,००० नाघेको थियो। मङ्गलवार नेपालमा थप ३१६ जना कोरोनाभाइरस सङ्क्रमित भेटिएको पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क ?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ। विभिन्न जिल्लामा ४८,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३३,२२७ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।