प्रधानमन्त्रीको परामर्श बैठकमा पूर्वमाओवादी मन्त्रीहरु अनुपस्थित


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई पाखा लगाए बुधबार बिहान बालुवाटारमा परामर्श गरेका छन्। ओलीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए।

पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगरलाई प्रधानमन्त्री ओलीले छलफलमा नबोलाएको एक स्रोतले बतायो।

तर, ओलीसँग नजिकिएका भनिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र लेखराज भट्ट भने बालुवाटार पुगेका थिए।

पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले आफू निकट मन्त्रिपरिषदका सदस्य र स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन्।