‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’


काठमाडौँ। अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन्।

हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन।’

यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ। कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४३ लाखभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख ९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।