पशुपति विकास क्षेत्रको सय वर्षे गुरुयोजनाको विरुद्धमा स्थानीय


काठमाडौँ। पशुपति क्षेत्र विकाश कोषले अघि सारेका एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित बनेका छन्।

पशुपति क्षेत्र आसपासका प्राचीन बस्ती विस्थापित गर्नेगरी उक्त योजना ल्याइएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित बनेका हुन्। स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनाश हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन्।

पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्त्वबीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन्।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्नेगरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताए। उनले गुरुयोजना विनाशकारी र अदूरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरे।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ। त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशिल पाशुपत क्षेत्र ‘‘ग्वल’’ लाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनाश र विध्वांशात्मक नीति लिएको बताएका छन्।