मुख्यमन्त्री शाही कालिकोटमा: राहत र उपचारको पखाईमा पीडित



कालिकोट। निरन्तरको वर्षातका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षती भएको छ। यतिखेर पीडितहरु राहत तथा उपचारको लागि पखाईमा छन्। खोला किनारा र पाखोमा रहेका बस्तिका बासिन्दाहरु त्रसित बनेका छन्।

यो समाचार तयार गर्दाको सयमसम्म खासगरी कालिकोटमा बाढीको वितण्डा चर्को देखिएको छ। दिनहुँको पहिरो र बाढीमा परेर डेढ दर्जन मानिसहरुले ज्यान गुमाई सकेका छन्। ६ जना वेपत्ता बेनका छन्। करिब एक हजार मानिसहरुल घरबार बिहीन भएका छन्।

यसरी प्राकृतिक प्रकोपले तहसनहस बनाएपछि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार गृह जिल्ला कालिकोट पुगेका छन्। उनको निर्वाचन क्षेत्र ‘ख’ मा बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षती भएको छ। उनले विपद व्यवस्थापन समितिको वैठकलाई सम्बोधन गर्दै प्राकृतिक प्रकोपमा परेकालाई राज्य र अन्य जनताले तत्काल राहत र उद्धारमा जुट्न आग्रह गरेका छन्। मुख्यमन्त्री शाहीले सुरक्षा निकायलाई पीडितहरुको उद्धार तथा राहतमा जुट्न आग्रहसमेत गरेका छन्।

बाढी पहिरोले जिल्लाको नरहरिनाथ गाउँपालिका र राष्टकोट नगरपालिकामा ठूलो जनधनको क्षती पुर्याएको छ। बाढो र पुलहरु भत्किाए छन्। एकगाउँबाट अर्को गाउँमा आवत जावत नै बन्दै भएका छन्। नरहरिनाथ गापाको साविक लालु, माल्कोट र कोटबाडा जोड्ने झुलङ्गे पुलका डोरी चुडिएका छन्।

कर्णालीमा बाढीको वितण्डा

त्यस्तै कर्णालीको दैलेख–सुर्खेत सडकखण्ड, मध्यपहाडि लोकमार्ग, कर्णाली राजमार्गलगायतका विभिन्न स्थानमा साना–ठुला पहिरो खसेपछि यातायात अवरुद्ध भएका छन्।

लगातारको वर्षाले दैलेख–सुर्खेत सडकखण्ड, कालिकोटको नाग्मदेखि जुम्लाको खलङ्गा जोड्ने सडक अवरुद्ध भइरहेका छन्। बिहीबार कर्णाली राजमार्गको राकम कर्णालीको पाल्ताडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भयो।

सुर्खेत–दैलेख सडकखण्डको गुराँस गाउँपालिकामा पर्ने घोडाबासमा समेत पहिरो जाँदा सडक अवरुद्ध भयो। यस्तै दैलेखको गुराँस गाउँपालिका–४ सियाकोट–तल्लोडुङ्गेश्वर सडक खण्डको रतीखोलामा बाढिसँगै आएको पहिरोले दिन भर सडक अवरुद्ध बनायो।

सल्यानको सल्लीबजारदेखि रुकुम–चौरजहारीहुँदै डोल्पा जाने सडक समेत अवरुद्ध भएको छ। सल्यानको कुमाख गाउँपालिका–२ खारखोलामा आएको बाढी–पहिरोले सडक नै बगाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजेशनाथ बास्तोलाले बिहीबार साँझसम्म कर्णाली राजमार्गको कालिकोटदेखि तल, दैलेख सुर्खेत सडकखण्डको घोडाबास, सियाकोट–तल्लोडुङ्गेश्वर सडक खण्डको अवरोध हटाइए पनि अन्य क्षेत्रको अवरोध हटाउने क्रम जारी रहेको जनाएका छन् ।

बास्तोलाले कर्णाली राजमार्गको कालिकोट जुम्ला खण्डमा गगने खोला, नाग्मलगायतका आधा दर्जन भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको बताएका छन्। सल्ली, रुकुम चौरजहारी हुँदै डोल्पा जोड्ने सडकको अवरोध हटाउने काम भइरहेको जानकारी दिए। यता कर्णाली राजमार्गको तल्लोडुङ्गगेश्वरदेखि दुल्लु जोड्ने सडक, मध्यपहाडी राजमार्गको दुल्लुदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकासम्मको सडक खण्डमा वर्षातमा सवारी आवत जावत बन्द भएको छ।

कर्णालीका मुख्य राजमार्गहरुलगायत अन्य बाटाघाटा वषाको समयमा प्राय: पहिरोको जोखिममै रहन्छन् । यात्रुहरु केहीबीच बाटोमै अलपत्र पर्नुपर्ने अवस्था छ। एसएसपी बास्तोलाले लगातारको बर्षाका कारण बाटो छिन छिनमा सडक अवरोध हुने गरेको बताए।

सडक निर्माण समयमा आवश्यक अध्ययनको कमीले मनपरी रुपमा डोजर चलाएका कारण बाढी पहिरोको जोखिम थपिउको इन्जिनियर नवीन थापाको धारणा छ। सडक निर्माण गर्दा डिपिआर अनुसार नगरिने जस्ता क्रियाकलापले यस्तो समस्या आउने उनी बताउछन्।

‘सडक निमार्ण गर्दा सडक विभागको मापदण्ड अनुसारको सडक निर्माण गर्नुपर्ने हुन्छ’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले मापदण्ड विपरित जथाभावी सडक निर्माण गरिरहेको पाइन्छ। त्यसले गर्दा पछि बाढी–पहिरोको समस्या निम्त्याउछ।’

सडक निर्माण गर्दा सडक विभागको मागदण्ड अनुसार दोहोरो लेनका लागि नाला छोडेर सात मिटर र एकल लेनका लागि तीन दशमलव ७५ प्रतिशत हुनुपर्ने बताए। तर, पछिल्लो समय स्थानीय तहले निर्माण गर्ने कतिपय सडकहरुमा त्यो पुरा भएको नपाइएको उनको भनाई छ।

यो पनि पढ्नुहोस्

राहत बाेकेर कालिकोट पुग्यो सेनाको हेलिकाेप्टर