राहत बाेकेर कालिकोट पुग्यो सेनाको हेलिकाेप्टर



तस्बिर: खगेन्द्र बुढा

कालिकोट। निरन्तरको बाढी र पहिरोबाट विपद्मा परेका नागरिकहरुलाई राहत बोकेर नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राष्ट्रियसभा सांसद जीवन बुढा, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट र राष्टकोट नगरपालिका मेयर काशीचन्द्र बराललगायतको स‌युक्त पहलमा सेनाको हेलिकप्टर राहत बोकेर सुर्खेतबाट कालिकोट पुगेको हो।

अध्यक्ष बिष्ट र मेयर बरालसहित कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलको टोलीले त्रिपाल, कम्मल, चाउचाउ, चिउरालगायत सामाग्री लिएको बुझिएको छ। जिल्लाको नरहरिनाथ गापामा मंगलबार पहिरोमा परेर ९ जनाको ज्यान गएको थियो।

गापा अध्यक्ष बिष्टले भने, ‘कालिकोटका धेरै स्थानमा पहिरो गएको छ। १४ जनाको ज्यान गइसकेको छ। उत्तिकै संख्यामा बेपत्ता छन्। करिब एक हजार नागरिक घरबारबिहिन भएका छन्। राहत र सहयोगको आवश्यक छ। स्थानीय सरकारले सक्दो राहत तथा उद्धारमा जुटेको छ। म र राष्टकोटका मेयर काशीचन्द्र बराल सुर्खेतबाट अपरान्ह ४ बजे कालिकोट पुगेका छौं।’

त्यस्तै अधयक्ष बिष्टले गत आइतबार गापको वडा नम्बर ८ को पहिरोमा परेर बेपत्ता बनेका एक जनाको शव अझैसम्म पनि निकाल्न नसकिएको बताए। उनले भने, ‘मानवीय संसाधानले शव निकाल्न सम्भव भएन। डोजर जानेबाटोसमेत छैन। उक्त शव खोज्नुपर्नेछ। प्राकृत प्रकोपले निक्कै क्षती पुर्याएको छ। सम्पूर्ण पालिकाबासीलाई सतर्क रहन र आफ्नो ख्याल गर्न अनुरोध गर्दछु।’