निर्मला हत्या प्रकरण: आरोपित ८ जना प्रहरीले पाए सफाई



काठमाडौँ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानका क्रममा गडबडी गरेको भन्दै मुद्दा झेलिरहेका प्रहरीलाई अदालतले सफाइ दिएको छ।

आज बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले १० साउन २०७५ सालमा बलात्कारपछि हत्या गरिएकी पन्तकाे प्रमाण नष्ट गरेकाे आराेपमा मुद्दा झेलिरहेका प्रहरीलाई सफाई दिन आदेश दिएको हो। उनीहरुलाई निर्मलाकी आमा दुर्गा देवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन्।

घटना अनुसन्धान गरेका एसपी दिल्लीराज बिष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। बिष्ट तत्कालीन कञ्चनपुर प्रहरी कार्यालयका एसपी थिए।

जिल्ला अदालत कन्चनपुरका श्रेष्तेदार यदुराज शर्माका अनुसार उनीहरुलाई आज अदालतले सफाइ दिएको हो। निर्मलाकी आमाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयको कञ्चनपुरको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मार्फत उक्त मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो।