सिटिइभिटीलाई बुझायो अनेरास्ववियूले ज्ञापनपत्र



काठमाडौँ। सत्तारुढ नेकपा निकट अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यावसासिक तालिम परिषद (सिटिइभिटी) मा सात बुँदे ज्ञापनपत्र पेश गरेको छ।

बिहिबार दिउँसो सानोठिमीस्थित सिटिइभिटीको केन्द्रीय कार्यालयमा सदस्य सचिव डा.पुष्परमण वाग्लेलाई अनेरास्ववियूको टोलीले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा अवैधानिक ढंगले नियुक्त गरिएका उपाध्यक्ष नियुक्तिको निर्णय खारेज गर्नुपर्ने, टिएसएलसी र प्रमाणपत्र तहको रिजल्ट तत्काल प्रकाशित गरिनुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार टिएसएलसी फेजआउट प्रक्रिया अघि बढाउनपर्ने माग राखिएको अनेरास्ववियूका केन्द्रीय सदस्य सागर केसीले बताए।

अनेरास्ववियूले वर्गीकृत छात्रवृत्ति २० प्रतिशतले वृद्धि गर्नुपर्ने, भाद्र दोस्रो साता गर्ने भनिएको परीक्षा रुटिन सार्नुपर्ने, विद्यार्थीको निशुल्क कोरोनाको पिसिआर टेस्ट गर्नुपर्ने र कोरोना विमा गर्नुपर्ने माग समेत राखेको छ। आज बुझाइएको ज्ञापनपत्रमा अनेरास्ववियूका नेता वीरेन्द्र विष्ट र अजित कार्कीको संयुक्त हस्ताक्षर रहेको छ।