काठमाडौँ। वर्तमान परिस्थिति र अवस्थाले शीर्षकमा भनिएझैं सन्देश प्रसारण गरिरहेको छ। दुई तिहाईको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न नसकेको र सरकार भ्रष्ट बन्दै गएको आवाजहरु उठ्न थालेका छन्।
राजनीति विज्ञानको मूल विषय भनेको सत्ता र संविधान हो। यहि सत्ता र संविधानलाई जनताको अवस्थाअनुरुप सञ्चालन गर्ने मुख्य जिम्मा राजनीतिकर्मीको हुन्छ। तर, नेपालका राजनीतिकर्मीले के आफ्नो कर्म, धर्म र मर्म पूरा गरेका छन् ? यो प्रश्नको जवाफ भने आम जनतालाई कम्तिमा थाह छ।
जनताहरुले भनिरहेका छन्, ‘व्यवस्था उत्तम, अवस्था खत्तम।’ किन यस्तो भन्न थाले ? यस प्रश्नको जवाफदेही को हुने ? पक्कै पनि राजनीतिकर्मी हुनुपर्ने हो। तर, उनीहरु सत्ता, सम्पत्ति र शक्तिको खेलमा अतिरिक्त व्यस्त छन्। उनीहरुलाई यस्ता प्रश्नको कुनै वास्ता छैन।
उत्तम व्यवस्थाको खत्तम अवस्थालाई पार लाउन राजनीतिकर्मीहरुले नि: स्वार्थ, स्वच्छछवी, त्याग, निस्कलंक बन्नैपर्छ। ‘राजनीतिलाई ब्यापार बनाउन खोजिएकाले अहिलेको अवस्था आएको हो’ जनताहरुले यसो भनिरहेका छन्। भन्न त भनिएला, ‘जुन डुङ्गामा सयर गर्ने, उही डुङगामा प्वाल पार्ने ?’ तर, खुट्टा दुखाउने जुत्ता र मन दुखाउने मान्छेले कसरी शान्ति दिन्छन् ? खुट्टा अनुसारको जुत्ता खोज्ने कि, जुत्ता अनुसारको खुट्टा ताछ्ने ? यि प्रश्नहरुमा भने नेपाली जनताहरुले घोत्लिनै पर्छ। उत्तर खोज्न ढिला गर्नै भएन।
राजनीति विज्ञान सम्पूर्ण विज्ञानको पनि विज्ञान मानिन्छ। अन्य आर्थिक, सामाजिक, स्वास्थ्य सबै विज्ञानलाई यसले नेतृत्व गरेको हुन्छ। तर, नेपालमा सबैभन्दा घृणाको विज्ञानका रुपमा राजनीतिक विज्ञानलाई लिन खोजिदै छ। यो बहुत दुःखदकाे कुरा हाे। नेपालमा अस्तित्वमा रहेका राजनीतिक दलहरुको पहिलो र दोस्रो तहसम्म पुगेका नेताहरुको हैसियत र उनीहरुको अवस्था सबैलाई थाह छ। अहिले सरकारी नेकपा र प्रतिपक्षि कांग्रेसलगायत अन्य राजनीतिक दलहरुको आन्तरिक कहलले के सन्देश दिन खोज्दैछ ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस र सलहले जनताहरु चिन्तित मात्रै होइन, दुःखका आँसु झारिरहेका छन्। तर, नेताहरुको जारी रवैया त्यहि पद, शक्ति र सत्ताको लागि केन्द्रित हुँदा जनताहरु नरोउन पनि कसरी ?
अब नेपाली समाजले एउटा कुराको हेक्का राख्नुपर्छ, उत्तम व्यक्ति वा राजनीतिक दल तत्काल प्राप्त गर्न सकिँदैन। खराब मध्येको कम खराब नेपालीले रोज्नुपर्ने बाध्यता छ। भ्रष्टमध्येको कम भ्रष्ट रोज्नुपर्ने स्थिति छ। नभए सम्पूर्ण अराजकता र स्वेच्छाचारीका विरुद्धमा जेहाद छेड्न सक्नुपर्यो। नभए त यस्तै हो भन्यो, बस्यो।
शीर्कषमा भनिएझैं देश विगार्ने नेता नै हुन्। उनीहरुले चाहेको खण्डमा, इमान्दार बनेको खण्डमा देश स्वर्ग बन्ने कुरामा कसैको दुईमत हुन सक्दैन। देश बनाउने काममा के राजनीतिकर्मी वा नेताको मात्रै भूमिका हुन्छ ? यो प्रश्नले भने सबैको मथिङगल भत्काउछ, हल्लाउछ। किन भने सबथोक गर्छौं भन्ने नेता, परिवर्तनका लागि लडेको भन्दै पदमा पुग्ने नेता, सत्ता, शक्ति र सम्पत्ति कमाउनेमा नेता, अनि नेताले देश र जनताको जीवन रक्षा नगरे कसले गर्ने ? स्वभाविक प्रश्न उठ्छ। तर, यहाँ नेर भुल्न नहुने कुरा के हाे भने, राष्ट्र बन्नका लागि राजनीति मात्रै नभएर जनता पनि चाहिन्छन्।
त्यसैले देश बनाउने काममा सम्पूर्ण जनतासँगै अन्य वर्गहरु, संस्थाहरु, संगठनहरुको भूमिका रहन्छ। गजलकार, मुक्तककार कमला पन्त (गोरखा) ले सामाजिक सञ्जालमा किन लेखि होलिन् ‘नेता देश बिगार्ने, कलाकार संस्कृति बिगार्ने, वाह वाह क्या कम्बिनेशन।’ देशलाई चिनाउने अर्को महत्वपूर्ण पाटो भनेको संस्कृति हो। संस्कृतिभित्र अनेकन विधाहरु पर्दछन्। ति मध्येमा कलाकारिता महत्वपूर्ण विधा हो। यसका मुख्य हकदार देशका गहना भनेर चिनिने कलाकार हुन्।
शीर्षकमा भनिएझैं कलाकारहरुले संस्कृति बिगारेकै हुन् त ? यो प्रश्नका बारेमा पनि आवश्यक पंत्ति र आवश्यक दर्शकहरु जानकार छन्। जसको काँधमा संस्कृतिको जगेर्ना गर्ने, संरक्षण गर्ने र विकास गर्ने भूमिका छ। उसैले नै विकासको नाममा संस्कृतिको विनास गर्ने र परिर्वतनको हवाला दिदै नेपाली गीत संगीतको संस्कृतिमाथि धावा बाेल्ने र ध्वस्त पार्ने काम हुनुलाई सामान्य र स्वभाविक मान्न सकिँदैन।
लोकतन्त्र र स्वतन्त्रताको नाममा स्वच्छन्दता समाजलाई किमार्थ स्वीकार्य हुँदैन। तीजगीतका नाममा केही कलाकारहरुले बजारमा ल्याएका गीतहरुले भनिरहेका छन् कलाकारहरु देशका गहना हुन् कि संस्कृति बिगार्ने प्रमुख कारक ? कलाकारलाई देश र जनताको दिएको मानकको अर्थ नबुझ्नेलाई हामीले कलाकार भनिरेहका र बनाइरहेका त छनौं? देउडागीतको नाममा, लोकगीतको नाममा, अन्य विधाका गीतको नाममा देखिन थालेका अराजकता र उच्छृंखलता अस्वभाविक मात्रै होइन, भत्सर्नायोग्य छन्।
यसमा सम्बन्धित संघ सस्थाहरुले आवश्यक कानूनको निमार्ण गर्ने र भएकै कानूनको उपभोग गर्न धेरै ढिला भइसकेको छ। बेलैमा विचार गरौं। नयाँको नाममा संस्कृति ध्वस्त पार्ने छुट कसैलाई छैन। सके यहाँभन्दा उत्तम र सर्वपरि संस्कृतिको निमार्ण गरौं। नभए परम्परागत संस्कृतिको हत्यारा नबनौं। आफूमाथि लागेको दाग मेटाउने प्रयास गरौं। नेताहरु र कलाकारहरुले नेपाली जनताहरुलाई मान्छे नै होइनन्, जे गरेपनि हुन्छ भन्ने ठानेका छन् भने त्यो मुर्खता हो। शरिरमा रगत दौडिने वीरहरु पनि यो देशमा जन्मिएका छन्। उचित सयममा उचित जवाफ दिनेछन्।
अन्त्यमा, विश्व प्रख्यात दार्शनिक/विचारक नेपोलियन बोनापार्टले भनेझैं संसारले दुःख पाउनुको कारक गलत मान्छे होइन, असल मान्छे मौन बसिदिनाले हो। कमला पन्तकै जस्तो सामाजिक जागरण ल्याउने प्रयास सबैले गरौं। यसैमा सबैको भलो हुने देखिन्छ। हाम्रो संस्कृतिको गीत भन्दै विदेशीलाई आफ्नो गीत देखाउँदै गर्दा उल्टै उनीहले मेरो संस्कृतिको प्रचार र विकास गरेकोमा धन्यवाद भन्लान्। चेतना भया।