आज साउन १५, खीर खाने दिने



काठमाडौँ। खीर खाएर आज साउन १५ मनाइँदै छ। साउन १५ मा खीर खाने चलनको महत्व पछिल्लो समय बढेको छ ।
खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने गर्दछ । गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा।अञ्जु कार्कीले खीर धेरैको प्रिय भोजन हुनुका साथै यसको सांस्कृतिक र औषधिजन्य महत्व रहेको छ।

डा।कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन्। खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ।ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ। अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा।कार्कीको भनाइ छ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ। कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा।सत्यमोहन जोशीको भनाई छ।

आज पुत्रदा एकादशी, व्रत बस्दा हुन्छ यस्तो फाइदा

यसैबिच ,आज पुत्रदा एकादशी ,साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी पर्ने गर्दछ। पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ। सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ।

एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ। बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ।