काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५० केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसहितको लिखित पत्र दर्ता गरेका छन्।
एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन्।
हाल देखिएको सबै विवाद र समस्याहरुको सामाधानका लागि पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने ठहरका साथ पत्र गराइएको नेताहरुले बताएका छन्। यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ।
यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ। पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ। यस्तै अन्य नेताहरुको पनि त्यसमा समर्थन रहेको बताइएको छ।