विश्व जगत सूचना र सञ्चारको म्याराथन दौडिरहेको छ। त्यो म्याराथनमा नेपाल अछुतो रहने सम्भावना नै भएन। र, नेपाल पनि यस दौडमा सँगसँगै दौडिरहेको छ। भलै जानेर या नजाने। सहज तरिकाले वा असहजताका बीचबाट। हाल नेपालमा विभिन्न हिसावले अनलाइन समाचार साइटहरु बाक्लै सँँख्यामा खुलेका छन्। तिनीहरुले रोजगारीको अवसरसमेत सिर्जना गरेका छन्।
सामान्यतया कति मानिसहरुले सो साइटमा भ्रमण गरे त्यसको आधारमा कमाइ हुने यस्ता साइटहरुले केही हदसम्म रोजगारी त सिर्जना गरेका छन्। तर, केवल भ्यू बढाउने सोचाइले गर्दा न्यूनतम पत्रकारिताको मर्यादाको त कुरै छाडौँ मानवीय संवेदनाको समेत ख्याल गरेको पाइँदैन। हाल सामाजिक सञ्जालहरुको बढ्दो प्रयोगले गर्दा सस्तो मनोरञ्जनको माध्यम समेत यहि भइरहेको छ। तर, सस्तो मनोरञ्जन र क्षणिक लोकप्रियताको लागि समाचारको सत्यतामा नपुगी सतही विश्लेषण गरी भ्रममा पार्ने गरी समाचारका शीर्षकहरु राखेको पाइन्छ। केहि उदाहरण हेरौँ।
‘काठमाडौँबासीको लागि डरलाग्दो खबरको खुलासा’, खुलासा के हो थाहा छैन। ‘जेनि कुँवरको डरलाग्दो रुप मिडियामा’ को हो जेनि कुँवर थाहा छैन।
‘भाइरल दार्इको घरमा पुग्दा यस्तो खुलासा’ भाइरल कसरी भयो थाहा छैन। ‘नाइटो छेड्दै सुस्मा कार्की’ जस्ता विषयहरु समाचार बन्नु पर्ने विषय हुन् ?
‘सरकारी सवारी साधनमा डेटिङ’ सत्यता के हो थाहा छैन, केवल अनुमान। यसरी अनुमान पत्रकारिता मौलाउदो छ। समाचार बन्ने हर विषय सार्वजनिक चाँसो,गुनासो र सरोकार राख्ने खालको हुनुपर्छ। माथि उल्लेखित विषयहरु सार्वजनिक अर्थ राख्ने विषय होइनन्।
यस्ता समाचार देख्दा ‘कुन्नि केलाई भन्दा केलाई लाज’ भने जस्तो अनुभुति हुन्छ। पत्रकारिताको न्यूनतम धर्मसमेत ख्याल नगरेर केवल मोबाइल बोकेको र मोबाइलबाट फोटो खिचेको भरमा पत्रकार हुनेहरुको पत्रकारिता देख्दा दिमाग खलबलिने सायद मेरो मात्र नहोला। तर, नियन्त्रण बाहिरका यस्ता नाम मात्रका मिडियालाई नियन्त्रणको कुनै माध्यम नहुँदा कुनदिन आफू मरेको खबर आफै अनलाइनमा हेरेर दंग पर्ने दिन नआउला भन्न सकिन्न।
समाचारको गहिराइसम्म नपुगी सतही कुरा गरेर मिडिबाजी गर्ने र यूजर बढाउने विषयमा मात्र सोच्ने मिडियाकर्मी देख्दा छिः भन्नसमेत सरम लागेर आउँछ। यिनीहरुलाई पत्रकारिताको मर्यादा त ख्याल छैन नै मानवतासमेत मरेको जस्तो लाग्छ। छोरो मरेको अवस्थामा घाटमा गएर आमालाई अनुभवको बारेमा सोध्नलाई पत्रकारिता भन्ने कि आँसुको व्यापार गर्ने व्यापारी भन्ने ? अलमलमा पर्छु म।
समाचार के हो ? भन्ने नै नबुझी जुनसुकै कुरालाई समाचार बनाउन सक्ने मान्छेको खुबीलाई पनि मान्नैपर्छ। तर, यसले समाजमा कस्तो प्रभाव पारेको हुन्छ त्यो कुरालाई पनि सोच्नु सायद पत्रकारिताको धर्म हो, कसैले कसैलाई गरेका भद्दा गाली समाचार पक्कै हुँदैन। तर, यसैलाई समाचार बनाएर देखाउने र केवल डलरवादी सोच राख्नेलाई केही भन्न सकिने अवस्था छैन।
किन कि यसको नियन्त्रणको सम्भावना पत्रकार आफैले भन्दा दोस्रोले नसक्ला। हामी कस्तो पत्रकारिता जन्माउँदै छौँ र यसले भोलिको पिढीँलाई के सिकाउँछ र समाज रुपान्तरणको चौथो अंग पत्रकारिताले विकृति ल्याउँदैछ कि भन्ने देखिन्छ, हिजोको दिनमा पत्रकार भन्ने बित्तिकै दिइने सम्मान आज पूर्ण नभए पनि धेरै घटेको छ। तर, के पत्रकारले अरुको सम्मान गर्नु पर्दैन रु समाचारको सामाजिक असरको ख्याल गर्नु पर्दैन ?
न्युनतम पत्रकारिताको मर्यादा नबुझी लहलहैमा वा केही डलरको लोभमा लागेका यस्ता मिडियालाई नरोक्ने हो भने भोलि समाज विकृतितर्फ उन्मुख नहोला भन्न सकिन्न। तसर्थ समाज परिवर्तनको संवाहक पत्रकारले समाजलाई गलत बाटोमा हिँडाउनु हुन्न नै, तर त्यसो भन्दैमा कसैलाई भद्दा गाली गरेको, कसैको घर झगडालाई देखाएर पत्रकार भनेर चिनाउनु आफैमा लाजमर्दो पक्कै हुन्छ नै। पत्रकारिताको नाममा मौलाउदो ब्यापारिक सटरहरु बन्द हुनैपर्छ। असली पत्रकारहरुले उल्लेखित विषयका बारेमा सोच्ने बेला आएको छ। युट्युवरहरुले आफूलाई पत्रकार भनिरहेका छन्, तर, उनीहरुले पत्रकारीताको आचरण व्यक्त गर्न सकेका छैनन्।
पत्रकारिताको न्युनतम मापदण्ड नबुझी गरिने यस्तो पित पत्रकारितालाई रोक्न असली पत्रकार आफै नलाग्ने हो भने भोलिका दिनमा पत्रकार भन्दा घृणाले थुक्ने दिन नआउला भन्न सकिन्न। सचेत बनौं, सचेत बनाऔं ।