दाङ। बाढीले बुधबार बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले सकुशल उद्दार गरेको छ।
जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
बिहान ५:०० बजेतिर नारायणपुरबाट तुलसीपुर आउँदै गरेको रा१च ८९२ नंको एम्बुलेन्सलाई घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले बगाएको थियो।
२० मिटर तल बगाएको उक्त एम्बुलेन्सलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारसहित पुगेको सात जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी उपरीक्षक गणेश चन्द सहितको २० जनाको टोलीले सकुशल बचाएको हो। उक्त एम्बुलेन्समा पाँचजना सवार थिए।
त्यस्तै, आजै बिहान ५: ०० बजेतिर घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलाले पनि कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा१च ८११ नंको एम्बुलेन्स सिस्नेखोलाले सडकदेखि १५ मिटर तल बगाएको अवस्थामा प्रहरीले बचाएको थियो। जिल्लाका पत्रेखोला, सिस्नेखोला, हापुरखोलामा पुल नहुँदा बर्सातको समयमा सास्ती खेप्नु परेको छ।