पहिरोमा परी ज्यान गुमाएका ९ जनाको शव पहिचान



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा न. ७ बाँगामा मंगलबार साढे दुई बजेतिर पहिरोले घर बगाएर बेपत्ता भएका सातै जनाको शव भेटिनुकासाथै पहिचान भएको छ।

पहिरोमा परी ज्यान गुमाउनेमा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाती चरित्र बुढाको मृत्यु भएको हो।

गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भएका छन्। पहिरोले घरसँगै बगेका मध्ये १६ वर्षीया विमला बुढाको पनि मृत्यु भएको छ।

त्यस्तै नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा बाले बुढाको घर भत्कदाँ दुई जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा ६४ वर्षका काले बुढा र उनकी श्रीमती ६१ वर्षीया मना बुढा रहेकी छिन्।

याेसँगै कालिकोटमा बाढी पहिरोमा परेर वितेका तीन दिनमा १० जनाको मृत्यु भएकाे छ।  ७ जना वेपत्ता भएका छन् भने ४ जना घाइते बनेका छन्।

गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टका अनुसार अहिले पनि वर्षा नरोकिएकाले उनीहरुको शव उठाउन समस्या भएको छ। थप क्षतीको विवरण आउन बाँकी छ।