काठमाडौँ। नेकपा (नेकपा) को मंगलबार बसेको स्थायी कमिटीको बैठकमा कडारुपमा प्रस्तुत भएका स्थायी कमिटी सदस्य डा.भीम रावलले पार्टीभित्रको अवस्था असामान्य बनेको बताएका छन्।
डा. रावलले पार्टीमा जसले विधान र पद्दतिअनुसार चल्नुपर्छ भनिरहेको छ, उनीहरुलाई नै एकता विरोधीका रुपमा प्रचार गरिएको र जो विधान मान्दैन, उचाहिँ एकताको पक्षधर भन्ने प्रचार गर्न खोजिएको बताए।
डा.रावलले भनाइको सार
यो स्थायी कमिटीको बैठक असार १० गतेदेखि आजसम्म यति लामो समयसम्म बस्दाखेरि पनि बैठकले कुनै पनि निर्णय गरेन। बैठकमा राम्रोसँग छलफल भएन । यसले हाम्रो पार्टीको क्षमता जनता र सबैका अगाडि हाम्रो विश्वसनीयतामाथि नै चोट पुर्याएको छ। र, बाहिर मुख देखाउन नसकिने स्थिति भएको छ ।
सरकारले अध्यादेश ल्याएका बेलामा हामी २० जना स्थायी कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर पार्टी विधानको धारा ४९ को ४ अनुसार बैठकको माग गर्यौं । विधान अनुसार माग गर्दा पनि बैठक बोलाइएन। अहिले पनि बैठकका कार्यसूचिहरुमा प्रवेश नगर्ने, त्यसमा छलफल नगर्ने र नटुंग्याउने कुरा यो उचित भएन। बैठकमा छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्नुपर्छ।
कतिपय मानिसहरुले बाहिर भनेजस्तो यो पदका लागि मात्रै पनि होइन। हामीले खाली पदका लागि मात्रै स्थायी कमिटीको बैठकको कुरा गरेका होइनौं। यद्यपि काम अगाडि बढाउँदाखेरि त्यसमा पद पनि गाँसिएर आउँछ, त्यो अलग कुरा हो । तर, हामीले उठाएका राष्ट्रियता लगाउतका विषयमा कतिपय मानिसहरुले केही पनि होइन भनेका छन्, त्यस्तो सन्देश नजाओस् । हामीले विषयहरुलाई महत्वका साथ उठाएका छौं । जनता र देशको सरोकारको विषयमा हाम्रो धेरै ठूलो चासो छ ।
पार्टीको विभाजनको जुन कुरा गरिँदैछ, हामी पार्टी विधानअनुसार चल्नुपर्छ, पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र पार्टीमा फुटका कुरा गर्नुहुँदैन, पार्टी प्रणालीबाट चल्नुपर्छ भन्ने मान्छेहरु नै पार्टी फुटतिर लागे भनेर ठान्छ भने त्यो गलत कुरा हो।
जसले विधान नमान्ने, जसले संगठनको प्रणाली नमान्ने, बैठकमा छलफल गर्ने कुरालाई महत्व नदिने , त्यस्ताले चाहिँ पार्टीलाई एक बनाएको ठहरिने रु अनि पार्टी विधान, पद्दति र प्रक्रियाअनुसार चल्नुपर्छ भन्नेहरु चाहिँ फुट चाहन्छन् भन्ने कुरा गलत हो । हामी पार्टीलाई एकतावद्ध बनाएर लैजाने पक्षमा छौं ।
वामदेव गौतमजीले ६ बुँदे जुन अगाडि राख्नुभएको छ, उहाँले आज प्रयास गर्नुभएको छ । यस्तो प्रयास सबैले गर्नुपर्छ । उहाँलाई पनि धन्यवाद छ । पार्टीलाई एक ठाउँमा राख्ने प्रयास हामीले जहिले पनि गरिरहनुपर्छ । तर, स्थायी कमिटीको बैठक जारी छ भने यी कुराहरु बैठकमा छलफल हुनुपर्छ । बैठकबाटै त्यसलाई टुंग्याउनुपर्छ ।