इजरायली प्रधानमन्त्रीका छोराले हिन्दुहरुसँग माफी मागे



काठमाडौँ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन्।

२९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन्।

बेन्जामिनका छोरा येरले पोष्ट गरेको दूर्गा देवीका हातहरुबाट अभद्र इशारा गरेको पनि देखिन्छ। देवी दूर्गाको बाहन सिंहको अनुहारमा इजरायलको महान्यायाधिवक्ताको तस्वीर जोडिएको थियो। त्यो तस्वीरसँगै उनले लेखेका थिए, ‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो।’

येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो। त्यसपछि सोमबार उनले ट्वीटरमै माफी मागेका हुन्। येरले लेखेका छन्, ‘मैले एक व्यंग्यात्मक पेजबाट मिम शेयर गरेको थिएँ, जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो।

यो तस्वीरको सम्बन्ध हिन्दु धर्मप्रतिको आस्थासँग पनि छ भन्ने मलाई थाहा थिएन। मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे जानकारी दिए, त्यसपछि मैले मेरो ट्वीट डिलिट गरिदिएँ। म यसको लागि माफी माग्दछु।’

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर सामाजिक सन्जालमा निकै सक्रिय छन्। धेरैजसो उनले हिब्रु भाषामा सामाजिक सन्जालहरुमा लेख्ने गर्दछन् तर माफी मागिएको ट्वीट भने उनले अंग्रेजी भाषामा लेखेका छन् ता कि धेरैभन्दा धेरै हिन्दुहरुले त्यसलाई पढेर बुझुन्।

येर यसअघि पनि बिभिन्न विवादमा फसेका छन्। जुलाई महिनाको सुरुमा उनले एक महिला पत्रकार डाना वायससँग पनि माफी माग्नु परेको थियो, किनभने येरले लेखेका थिए– प्रतिष्ठित समाचार वाचकहरु शारीरिक सम्झौता गर्ने विन्दुमा पुगेका छन्।