नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो



काठमाडौँ। देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।

मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ। अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा ५३ जना

मङ्गलवार थपिएका सङ्क्रमितमध्ये ५३ जना काठमाण्डू उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४८ जना काठमाण्डू, चार जना ललितपुर र एक जना भक्तपुरका रहेका छन्। मङ्गलवार रौतहट र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित रहेका डा। गौतमले बताए।

बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको डा। गौतमले बताए। दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।

अरू तथ्याङ्क के छ ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०३२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३५२,३०७ रहेको छ। अहिले देशभरिका क्वारन्टीनमा १५,३३१ जना छन्। प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।