बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली



काठमाडौँ। नेकपा भित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न पुगेका छन्। ओली भैँसेपाटीस्थित गौतमको निवासमा मंगलबार साँझ पुगेका हुन् ।

नेकपा भित्रको विवाद मिलाउने प्रयासस्वरुप गौतमले आजै ६ बुँदे प्रस्ताव अघि सारेका छन् भने सो प्रस्तावसँगै गौतम प्रधानमन्त्री ओलीको क्याम्पमा पुगेको विश्लेषण हुन थालेको छ । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

रातोपाटीका अनुसार यद्यपि गौतमको प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल सुरु भइनसकेको अवस्थामा ओली उनलाई भेट्न एकाएक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बालुवाटार निकट स्रोतका अनुसार गौतमलाई विश्वासमा ल्याउने प्रयासमा ओली छन् ।

आजै बोलाइएको स्थायी समिति बैठक ओलीले स्थगित गरेका थिए भने त्यसलाई अस्वीकार गर्दै प्रचण्ड समूहले बैठकलाई निरन्तरता दिएको थियो । सो बैठकमा पनि गौतमले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताएका थिए ।  ओली बिनाको स्थायी समिति बैठकले भने उनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।