काठमाडौँ। राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा अपार हर्ष र खुशी लागेको जनाएका छन्।
मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले यस्तो धारणा राखेका हुन्। नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टी कांग्रेसमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन्।
उनले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई सम्झिए।
२००८ सालमा सूर्यबहादुर मोरङ काँग्रेसको कोषाध्यक्ष रहेको तथा २०१० मा धनकुटा काँग्रेसको सभापति भएको उनले बताए। त्यसपछि भने काँग्रेससँग सम्बन्धबिच्छेद गरेर बुबा फरक बाटो लागेको उनले बताए। उनले काँग्रेससँग तोडएको नाता ६७ वर्षपछि फेरि जोड्न पाउँदा खुसी लागेको समेत बताए।
उनले आफ्नो बुबाले लोकतान्त्रिक शक्तिको बृहद मोर्चाको कल्पना गरेको र त्यो काँग्रेसबाटै सम्भव भएको पनि बताए। उनले आफ्नो पूरानो पार्टी राप्रपा बुबाले खनेको बाटोबाट च्यूत हुँदै गएकाले आफू काँग्रेसभित्र घुलित हुने निर्णय गरेको पनि बताए।
सो क्रममा उनले राप्रपाभित्र असन्तुष्ट धेरै नेता कार्यकर्ता भएको भन्दै उनीहरुलाई पनि क्रमश: काँग्रेसमा प्रवेश गराइने बताए। आज नै धेरै नेता कार्यकर्ताले काँग्रेस प्रवेश गर्ने चाहनामा राखेपनि कोरोनाको संत्रासका कारण सम्भव हुन नसकेको उनको दावी थियो।
थापालगायतलाई स्वागत गर्दै देउवाले नवप्रवेशीको पार्टीमा उचित मूल्यांकन हुने बताए। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाले प्रतिगमनको बाटो रोजिरहेको बेला थापालगायत अग्रगमनको चाहनासहित काँग्रेसमा प्रवेश गरेकामा धन्यवाद दिए।