काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कहल चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन्। जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन्।
यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ। तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ।
यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ। यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ। तर, हस्ताक्षेर बिनाको विज्ञप्ति भएका कारण धेरैले शंका गरेका छन्। हस्ताक्षेरविहिन उक्त ६ बुँदे प्रस्ताव सामाजिक सञ्जालमा भाइरल बनेकाे छ।