बलात्कारको अभियोगमा युट्युबर सिवाकोटी जेल चलान



काठमाडौँ। बलात्कारको अभियोगमा युट्युबर अर्जुन शिवाकोटीलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ।

साेमबार जिल्ला अदालत काठमाडौँले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिएका छन्।

महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो। ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेको अभियोग छ। शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन्। शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गरेको उजूरी परेको थियो।

०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएको र पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थालेपछि घटना बाहिर आएको हो। बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्दै आएका थिए।

पीडित किशोरीको आमासँगै व्यवसायसमेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे। अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए। यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन्।