‘नेकपाभन्दा फाउण्डेशन, अनेरास्ववियूभन्दा क्लब बलियो बनाइदै छन्’



काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता आरती लामाले नेकपाका संस्थापक तथा अन्य नेताहरुलाई पुख्र्यौली सम्पत्ति जस्तै बाडफाड गर्नेकाम बन्द गर्न सुझाव दिएकी छन्।

साथै उनले पार्टीभन्दा फाउण्डेशन र संगठनभन्दा क्लवहरु बलियो बनाउने खेल चलिरहेको टिप्पणी गरेकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेशबुक मार्फत पार्टीका संस्थापक तथा अन्य नेताहरुलाई पुख्र्यौली सम्पत्ति जस्तैगरी बाडफाड गरेर फाउण्डेशन, प्रतिष्ठान, स्पोर्टस, मिलनकेन्द्रलगायतका नाममा बाढिएकोमा असन्तुष्टि जनाएकी हुन्।

उनले लेखेकी छन्, ‘आदरणीय नेताहरुको नामलाई आफ्नै पुर्ख्यौली सम्पती जस्तै गरि बाडफाड गरेका छन्, फाउन्डेसन, प्रतिस्ठान, स्पोर्ट्स, मिलन केन्द्र यावत नाममा झन तल तल सम्ममा गुटलाई बलियो बनाउने अभियानमा जुटिरहेका छन्।’

अनेरास्ववियूभन्दा स्पोर्टस् क्लब बलियो बनाउने र पार्टीभन्दा फाउण्डेशन बलियो बनाउने भएपछि पार्टी र संगठन बनाउने चिन्ता कसलाई हुन्छ ? भन्दै प्रश्न गरेकी छन्। उनले लेखेकी छन्, ‘क्याम्पसमा अनेरास्ववियू भन्दा स्पोर्ट्स क्लबको संगठन बलियो बनाउने र पार्टीभन्दा फाउण्डेशन बलियो भए पछि पार्टी र संगठन बनाउनु पर्छ भन्ने चिन्ता कसलाई हुन्छ ? आफूले गरे राम्रो, अनि अरुले गरे भत्कियो नासियो ? दोषी चस्मा ! गलतलाई गलत, सहिलाई सहि देख्नुपर्छ।’

नेता लामाले नेताहरुको नाममा गुटबन्दी बन्द गर्न, नेताहरुको योगदान र त्यागलाई सधै सम्मान गर्न अनुरोध गरेकी छन्।