कर्णालीमा ३१ जना कोरोना संक्रमित थपिए



सुर्खेत। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सोमबार ८ जना बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा २ र ८ वर्षीय २ जना बालक, ५ देखि १३ वर्षसम्मका ४ जना बालिका, ३३ देखि ३८ वर्षसम्मका ३ पुरुष र ३० र ३२ वर्षका २ जना महिला रहेका छन्।

त्यस्तै वडा नम्बर १० मा २ वर्षका एक बालक, ३ वर्षीया एक बालिका, २३ देखि ६३ वर्षसम्मका ८ जना पुरुष र २० देखि २५ वर्षसम्मका ३ जना महिलामा संक्रमण पुष्टि भएको छ। दुल्लुकै वडा नम्बर १२ का २२ देखि ३० वर्षका ३ जना पुरुष र ५५ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जना र सल्यानको कुमाख गाउँपालिकाका दुईजना रहेका छन्।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ। कर्णाली प्रदेशमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन्। योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ। २४६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै देशभरिमा गत २४ घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ। अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त त्भएका छन्।