जुम्लामा ७५ वर्षीय बुबाको छोराको कुटपिटबाट मृत्यु



जुम्ला। कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन्। बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीकाअनुसार छोरा ऐनबहादुरले आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेको बताए।

छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ। घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ।

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटनास्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ। मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।