१० दिनभित्र चेपाङ समूदायका घर तयार गर्नुपर्छ: नेता शर्मा



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले १० दिनभित्र चेपाङ समूदायका घर तयार गर्न सरकारलाई अनुरोध गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले चितवन माडी ९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर नष्ट गरेको प्रति दोषीलाई कारवाही गर्दै गल्ति सच्याउन सरकारलाई आग्रह गरेका हुन्। शर्माले लेखेका छन्, ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ।’

केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो।

उक्त कार्यलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को विरोध भएको छ। सिंहदरबारको आँखाले हेर्दा जनताका घरहरु गोठ जस्तै देखिएलान् तर, जनताका लागि भने तिनै गोठ ओतलाग्ने र जीवन बाँच्ने आधार हुन सक्छन्।

यसतर्फ सरकारले कि ध्यान नदिएको हो भन्दै सरकारको आलोचना भएको छ। यस्तो झरीको समयमा चेपाङ समूदायलाई अभरपार्नेहरुमाथि कारबाही गर्न सर्वत्र माग गरिएको पाईन्छ।