काठमाडौँ। पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्रा क्रममा हिडेका नागरिकमाथि गृहमन्त्रालयले दुःख दिएको टिप्पणी गरेका छन्।
गृहले यात्रामा हिडेका बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन्। हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ। उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन्।
बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ।’
एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने बास्कोटाको सुझाव छ।
सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन्। तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरु पैदल हिँडेर सीमा पार गरी अर्को गाडीमा चढ्ने गरेका छन्।
कोरोना संक्रमणको जोखिम रहेको भन्दै हाल जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चलाउन दिइए पनि ती गाडीहरुमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन। सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चलाउन दिने निर्णय गरेको छ।