निर्मला हत्या प्रकरणका दुई वर्ष: आन्दोलन र आश्वासनमा सिमित



काठमाडौँ। कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक दुई वर्ष भएको छ। साथीको घरमा गएकी निर्मलाको परिवारले अmभैंसम्म पनि न्याय पाएको छैन। वितेका दुई वर्ष आन्दोलन र आश्वासनमा वितेको पीडित परिवारको भनाई छ। निर्मलाको शव ११ साउन २०७५ मा भीमदत्त नगरपालिका २ र १८ को सीमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटिएको थियो।

बलात्कारपछि हत्या भएको प्रहरीले ठहर गरेपनि आजसम्म निर्मलाका हत्यारा पक्राउ परेका छैनन्। दुई वर्षको समयमा प्रहरीले थुप्रै आरोपीलाई पक्राउ गर्‍यो। तर, कसले, कसरी र किन हत्या गर्‍यो भन्ने गतिलो प्रमाण अझैंसम्म पनि भेटिएको छैन।

घटना भएको २४औं दिन अर्थात ४ भदौ २०७५ मा प्रहरीले मानसिक रुपमा अस्वस्थ भनिएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो।
तर, विष्ट अभियुक्त भएको प्रहरी दाबीमा कञ्चनपुरबासी सहमत नभएपछि आन्दोलन सुरु भयो।

स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका १८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने १२ जनाभन्दा बढी घाइते भए। कति अंगभग बने। आन्दोलन उग्र बन्दै गर्दा विष्टको डीएनए मेल नखाएपछि र उनी छुटेका थिए। तर, पछिल्लो समयमा पनि प्रहरीका तत्कालिन अधिकारीहरु र केही मिडियाका पत्रकारहरुले उनै विष्टलाई दोषी करार गर्न खोजेका थिए।

त्यसपछिका अनुसन्धानमा प्रहरीले दर्जनभन्दा बढीको डिएनए परीक्षण गर्‍यो। तर सबैको डिएनए मेल खाएन। आजका दिनसम्म निर्मलाको न्यायका लागि बारम्बार आवाज उठेपनि प्रभावकारी बन्न भने सकिरहेका छैनन्।