काठमाडौँ। राजधानीको बाफलमा बिहीबार घटेको घटना पछिल्लो ७ वर्षमा तेस्रो हो। २२ वर्षीया पवित्रा कार्कीले प्रेम प्रस्ताव अस्विकार गर्दा मोहम्मद आलमले एसिड प्रहार गरेका थिए। बिबाहित आलमले भारतीय नागरिक मुन्ना महमदलाई प्रयोग गरेर एसिड हान्न लगाएका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ वटा घटना घटेका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ। घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ पनि परेका छन्।
यो अवधिमा एसिड हान्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही भएको तथ्यांक छ। तर, यस्तो आपराधिक मनोवृत्ति भने अझै रोकिएको छैन।
देशभर २०७१, २०७४, २०७५ र २०७६ मा एसिड प्रहारका ४/४ वटा घटना भए। २०७२ मा २ र २०७३ र बिहीबार १/१ वटा घटना यससँग सम्बन्धित छन्। २०७१ फागुन १० मा वसन्तपुरको झोंसेंमा एसएलसीको ट्युसन पढ्न गएका रामेछाप खनियापानीकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड हान्ने जीवन विक एक महिनापछि भारतबाट पक्राउ परेका थिए।
२०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे काभ्रेका विष्णु भुजेलले आफ्नी श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए। २०७६ भदौ २० मा वीरगन्ज–१३ श्रीपुरकी १५ वर्षीया मुस्कान खातुनमाथि माजिद मियाँ र सम्साद मियाँको योजनामा एसिड प्रहार भयो। यीसहित घटनामा संलग्न अधिकांश पक्राउ परेर कारागारमा छन्।