प्रधानमन्त्री ओलीको निर्देशनमा एमाले दर्ता हुँदैछ: वामदेव गौतम



काठमाडौँ। नेकपा स्थायी कमिटी बैठक जारी छ। तर, स्थायी कमिटीको बैठकबसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो।

बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए।

एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गरेका थिए। बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ। यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन। अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो। यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो।

बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए। बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए। ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिए।

अनलाईन खबरका अनुसार झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ। नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन्।