नेकपा इतिहासकै अप्ठेरो स्थिति आइपुग्यो: सुरेन्द्र पाण्डे


file photo

काठमाडौँ। नेकपाको जारी स्थायी कमिटीको बैठकले कस्ता निर्णय गर्छ ? के हुन्छ नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डको अवस्था ? वर्तमान राजनीतिक बजारमा सर्वाधिक चर्चामा रहेका प्रश्नै यिनै हुन्।

मदन भण्डारीको ६९औं जन्मजयन्तिमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले आफ्नो सत्ता ढाल्नको लागि स्वदेशी र विदेशीहरु सक्रिय रहेको बताएपछि उल्लेखित प्रश्नहरु झन् अर्थपूर्ण बनेका हुन्। प्रचण्ड र माधव नेपाल पक्ष मिलेको खण्डमा स्थायी कमिटीको बैठकमा ओली गुट अल्पमतमा पर्नेछ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षका स्थायी कमिटीका सदस्य डा।सुरेन्द्र पाण्डेले विभिन्न मिडिया मार्फत (नेकपा) ओली एण्ड प्रचण्ड लिमिटेड नभएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘‘ओलीलाई प्रधानमन्त्री नै नेकपाले बनाएको हो। हामीले सरकार र पार्टीको कामको समीक्षा गर्ने एजेण्डा राखेका छौं’

नेता पाण्डेले भनेका छन्, ‘कुर्सीमा पुगेपछि मलाई कसैले हटाउन सक्दैन भन्ने लाग्न सक्छ। तर, शाहवंशीय शासन त हट्यो भने निर्वाचित शासन हट्न सक्दैन रु कुर्सी र सडक म्यानेज गर्न सकेनौं भने हामी समस्यामा पर्छौं, अहिले भइरहेको यही हो।’

नेकपाभित्र अहिले देखा परिरहेको समस्या सामान्यखालको नरेहेको नेता पाण्डेको भनाई छ। उनी भन्छन्, ‘परिस्थिति चाहिँ धेरै नै गाँठो परेको देखेको छु मैले। यो अहिलेको परिस्थिति सहज छैन, मैले बुझेको यत्ति नै हो। नेकपाको इतिहासमै धेरै अप्ठेरो स्थिति आइरहेको छ ।’

नेकपा सचिवालयबाट टरेको सत्ता संकट स्थायी कमिटीमा सरेको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा उपस्थित नभएर अन्यत्र आफ्ना अभिव्यक्ति, दिइरहेका छन्। जारी बैठकबाटै प्रचण्ड–नेपाल पक्षले सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

गत बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अहिलेसम्म नक्सा र सीमा समस्याबारे छलफल भएकाले प्रधानमन्त्रीको आलोचना भइसकेको थिएन। कार्यसूचीमा रहेको सरकार र पार्टीको कामको समीक्षामा प्रवेश गरेपछि स्थायी कमिटीको बहुमतले ओलीलाई पद त्याग्न दवाब दिने संकेत नेताहरुले गरेका छन्।