राजेश हमालको ‘महानायक’ उपाधिमाथि दीपाको प्रश्न



काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज लोभलाग्दो छ। नायक हमालले अभिनय गरेका चलचित्र पछिल्लो समयमा असफल हुन थालेपनि केही वर्ष अगाडिसम्म उनको टाउको पोष्टरमा राख्दासम्म पनि दर्शक हलमा आउथ्यो।

नेपालमा मल्टिप्लेक्समा दर्शकको आकर्षण बढ्न थालेपछि हमालका चलचित्रले कमजोर व्यापार गर्न थालेका हुन्। यस्तै, दर्शकको चलचित्रप्रतिको रुची नै फरक भएपछि हमाल पनि कमजोर बन्न थाले।

चलचित्र प्राविधिक संघले नायक हमाललाई ‘महानायक’को उपाधि दियो। योसँगै मिडियामा हमाललाई ‘महानायक’ भन्न थालियो। तर, नायक हमाललाई दिइएको यो उप–नाम विवादमा भने सधै रहदै आएको छ। चलचित्रमा काम गर्नु बाहेक हमालले चलचित्र क्षेत्रका लागि नेतृत्वदायी भूमिका नखेलेको भन्ने आरोप पनि नलागेको होइन।

चलचित्र क्षेत्रले बिषम परिस्थिती भोगिरहेको समयमा हमाल अगाडि नसरेको भन्दै पनि आलोचना हुने गरेको छ। तर, आम दर्शक हमाललाई ‘महानायक’ मान्छन्। किनकी, हमालको व्यक्तित्व, उनले चलचित्र क्षेत्रलाई दिएको योगदान, उनको प्रतिष्ठालाई हेर्दा पनि हमालको कद चलचित्र क्षेत्रमा उचो छ।

हमालका चलचित्रले उनको टाउकोमात्र पोष्टरमा राख्दा पनि निर्मातालाई घाटा दिएका छैनन्। अहिलेको महंगा स्टारहरुले खेल्ने चलचित्रले लाखौ घाटा व्यहोर्दा हमालका चलचित्रबाट निर्माता मोटाएका थिए। हमालका चलचित्रमा दुःखी र गरिबका कथा भनिएका थिए।

यसैले पनि उनी पर्दामा देखिदा दर्शकको ताली बज्थ्यो। आजका दिनमा हमालले चलचित्र खेलेपनि नखेलेपनि उनको जस्तो क्रेज अरुले बनाउन सकेका छैनन् भन्दा हुन्छ।

हालै मात्र निर्देशक दीपाश्री निरौलाले नायक हमालको यो उपाधिमाथि प्रश्न सोझाएकी छिन्। अहिले, सामाजिक संजालमा दीपाको यो भिडियो चर्चामा छ। साथै, उनको आलोचना पनि भैरहेको छ।

संचारकर्मी प्रकाश सुवेदीसँग दिएको एक अन्र्तवार्तामा दीपाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाएकी छिन्। केही समय अगाडिसम्म राजेश हमाल चलचित्र क्षेत्रमा रहेको तर अहिले नभएको तर्फ पनि दीपाको भनाई सोझिएको छ।

चलचित्र क्षेत्रलाई आवश्यकता पर्दा हमालको उपस्थिती फितलो भएको दीपाको तर्क छ। उनले अहिले आम जनता र चलचित्रकर्मीले नै साथ र सहयोगको अपेक्षा गरेको समयमा हमाल टिकटक बनाउन व्यस्त भएको भन्दै आलोचना पनि गरेकी छिन्। दीपाभन्दा अगाडि पनि केही कलाकारले राजेश हमाललाई दिइएको यो उप–नाममा असन्तुष्टी व्यक्त गरेका थिए। हामीले समाचार अनलाइन खबरबाट सभार गरेका हौं।