इरानद्वारा ट्रम्पलाई तत्काल गिरफ्तार गर्न वारेन्ट जारी



एजेन्सी। इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ। इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ। इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ। जहाँ इरानका कुदस सेनाका प्रमुख कासिम सुलेमानी मारिएका थिए।

इरानले जनवरीमा भएको ड्रोन हमलामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। सोमबार इरानका एक अधिकारीले उक्त आरोलाई दोहोर्याएका छन्। इरानले यी ३० जनालाई हत्या र आतंक फैलाएको आरोप लगाएको छ भने ट्रम्पलाई पक्राउ गर्ने प्रयासलाई जारी राख्ने जनाउँदै आएको छ।

इन्टरपोलले कुनै जवाफ दिएन

फ्रान्सस्थित इन्टरपोलले यो मुद्दामा कुनै जवाफ दिएको छैन। इरानका एक अधिकारी अल्कासिम्हारकाअनुसार इरानले यसअघिनै इन्टरपोलसँग ट्रम्प लगायत बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अपिल गरेको थियो। यो इन्टरपोलले जारी गर्ने सबैभन्दा ठूलो सूचना हुनेवाला छ।

यो आदेश कार्यान्वयन भएमा तत्काल आरोपीको स्थान पत्ता लगाएर पक्राउ गर्नुपर्ने हुन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भने सुलेमानीलाई आतंकवादलाई सहयोग गर्दै आएको अरोप लगाउँदै आएका छन्। अमेरिकाले गरेको ड्रोन हमलामा सुलेमानी मारिएका थिए।

सुलेमानी मारिएलगत्तै राष्ट्रपति ट्रम्पले भनेका थिए– ‘कासिम सुलेमानीको आतंकवादी षडयन्त्र दिल्लीदेखि लन्डनसम्म फैलिएको थियो। हामीले लक्षित सूची तयार गरिसकेका छौ । हामी आवश्यकताअनुसार प्रत्येक प्रकारका कार्वाही गर्न तयार छौं।’

सुलेमानीको मृत्युलगत्तै इरानका सर्वोच्च नेताले पनि अमेरिकालाई खुल्ला चुनौती दिएका थिए। सर्वोच्च नेता अयातुल्ला अली खमानीले आफुहरु जनरल सुलेमानीको मृत्युको बदला लिएरै छाड्ने चेतावनी दिएका थिए।

सुलेमानी सन् १९९८ मा इरानी रिभोल्युसनरी गार्डस्को कुदस् सेनाका प्रमुख बनेका थिए। त्यसयता उनी अमेरिकाका लागि तारो बन्दै आएका थिए। जसको अन्त जनवरीमा भएको ड्रोन हमलामा भएको थियो।