मेसिन बिग्रियो भनेर बस्ने होइन, विकल्प खोज्नुहोस्: मुख्यमन्त्री शाही


सुर्खेत। कर्णाली प्रेदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाबाट अतिप्रभाव देखिएका कर्णाली जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन्।

सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले उक्त निर्देशन दिएका हुन्। कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउन निर्देश दिए। अतिप्रभावित जिल्लाहरुमा मुख्यमन्त्री शाहीले लकडाउनलाई कडाइपूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले परीक्षणमा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेको बन्दै विविध कारण देखाएर नउम्किन सरोकारवालाहरुलाई सुझाव दिएका छन्।

प्रदेश अस्पत्तालमा रहेको पीसीआर मेसिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले भने, ‘मेसिन बिग्रियो भनेर बस्ने होइन विकल्पको खोजी गर्नुहोस्।’

भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउँदै उनले अब समुदायस्तरमा केन्द्रित हुनुपर्ने बताए। क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने समितिले निर्णय गरेको छ।