नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो


काठमाडौँ। नेपालमा २४ घण्टाभित्र ४६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वृद्धिसँगै आइतबारसम्म देशभरि पुष्टि भएका कोरोना संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुगेको छ।

तीमध्ये हालसम्म ३,०१३ जना निको भएका छन् भने आइतवारसम्म २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा १७९ जना निको भएका छन्।

आइसोलेशनमै सुत्केरी भएकी युवती भन्छिन्, ‘कोरोनाभाइरसलाई परास्त गर्ने आशामा छु।’ अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड -१९ भएका व्यक्ति भेटिएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

अहिलेसम्म नेपालका सबै जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ४,९६२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,१५,८३८ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि ६१,७३१ जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।